काठमाडौं महानगरपालिकाको सहयोगमा शुक्रराज अस्पताललाई १,८०० भायल रेबिजविरुद्धको खोप

theoutsidenepal.com

काठमाडौं महानगरपालिकाको सहयोगमा शुक्रराज अस्पताललाई १,८०० भायल रेबिजविरुद्धको खोप

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहयोगमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले रेबिजविरुद्धको १ हजार ८ सय भायल खोप प्राप्त गरेको छ।

जनावरको टोकाइबाट प्रभावित सेवाग्राहीलाई रेबिजविरुद्धको खोप सेवा प्रदान गर्दै आएको अस्पताललाई महानगरपालिकाले उक्त परिमाणमा खोप उपलब्ध गराएको हो। अस्पतालका अनुसार दैनिक करिब ६ सय जना जनावरको टोकाइबाट प्रभावित सेवाग्राही उपचार तथा परामर्शका लागि अस्पताल आउने गरेका छन्।


खोपको माग उच्च रहेको अवस्थामा काठमाडौं महानगरपालिकाबाट प्राप्त १ हजार ८ सय भायल खोपले रेबिजविरुद्धको खोप सेवालाई नियमित, सहज र प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने अस्पतालले जनाएको छ।

खोप हस्तान्तरण तथा सहयोगसम्बन्धी कार्यक्रममा अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले काठमाडौं महानगरपालिकाको टोलीलाई स्वागत गर्दै महानगरपालिकाले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले जनावरको टोकाइपछि समयमै रेबिजविरुद्धको खोप लगाउनु अत्यन्त महत्वपूर्ण हुने भएकाले अस्पतालमा आउने सेवाग्राहीलाई नियमित रूपमा सेवा उपलब्ध गराउन खोपको उपलब्धताले ठूलो योगदान पुर्‍याउने बताउनुभयो।


अस्पताल परिवारले यस महत्वपूर्ण सहयोगका लागि काठमाडौं महानगरपालिकाकी नगर प्रमुख श्री सुनिता डंगोल तथा महानगरपालिकाको सम्पूर्ण टोलीप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

रेबिज प्राणघातक रोग भए पनि समयमै उचित उपचार तथा आवश्यक खोप लगाएमा यसको जोखिमबाट बच्न सकिने भएकाले जनावरको टोकाइ वा सम्पर्कपछि तत्काल स्वास्थ्य संस्थामा पुगेर चिकित्सकीय परामर्श लिन अस्पतालले आग्रह गरेको छ।


प्रतिक्रिया