काठमाडौं, ३० फागुन गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ। राजधानीस्थित सोल्टी होटलमा आयोजित उद्घाटन समारोहमा परराष्ट्रमन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पानसमा दीप प्रज्वलित गर्दै अधिवेशनको औपचारिक उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शर्माले प्रवासमा रहेका नेपालीहरूको अनुभव, सीप र अन्तर्राष्ट्रिय सम्पर्क नेपालको विकास र रूपान्तरणका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले गैरआवासीय नेपालीहरूको ज्ञान, पुँजी र प्रविधिले नेपालमा औद्योगिक विकास, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने धारणा व्यक्त गरे।
मन्त्री शर्माका अनुसार नेपालको संविधान र कानुनले गैरआवासीय नेपालीलाई राष्ट्रको विकासका साझेदारका रूपमा स्वीकार गरेको छ। उनले प्रवासमा रहेका नेपालीहरूले लगानी, नवप्रवर्तन र सांस्कृतिक दायित्वमार्फत मातृभूमिप्रति योगदान बढाउनुपर्ने बताए। अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ चुनौतीहरू देखा परेको अवस्थामा गैरआवासीय नेपाली संघले प्रविधि, लगानी र ज्ञानको दायरा विस्तार गर्ने जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।
मध्यपूर्व क्षेत्रमा पछिल्ला दिनमा देखिएको संकटका कारण त्यहाँ कार्यरत नेपालीको सुरक्षाप्रति सरकार सजग रहेको पनि मन्त्री शर्माले बताए। उनले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, हित र सहायताका लागि सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिए। खाडी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न इमरजेन्सी कन्ट्रोल रुम सञ्चालनमा ल्याइएको र नेपाली नियोगमार्फत सम्पर्क तथा सहयोगको व्यवस्था मिलाइएको उनले बताए।
दीर्घकालीन लगानी, नवप्रवर्तन र ज्ञानमा आधारित अर्थतन्त्र निर्माणका लागि सरकार, निजी क्षेत्र र गैरआवासीय नेपालीबीच सहकार्य अपरिहार्य भएको मन्त्री शर्माले उल्लेख गरे। उनले गैरआवासीय नेपाली ऐन २०६४ लगायत आवश्यक कानुनहरू संशोधन गर्न अन्तरनिकाय समन्वय भइरहेको जानकारी दिँदै नीतिगत सुधारलाई प्राथमिकता दिइएको बताए।
उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै एनआरएनएका कार्यकारी अध्यक्ष महेशकुमार श्रेष्ठले प्रवासमा रहेका नेपालीहरूको मनमा मातृभूमिका लागि केही गर्ने तीव्र इच्छा रहेको बताए। उनले संघभित्रको लामो विवाद अन्त्य भएर एकता कायम भएको उल्लेख गर्दै समृद्ध नेपालको अभियानमा गैरआवासीय नेपालीहरूको योगदान अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।
संस्थापक अध्यक्ष उपेन्द्र महतोले एनआरएनएको एकताप्रति खुसी व्यक्त गर्दै व्यक्तिगत सफलताभन्दा राष्ट्र निर्माण महत्त्वपूर्ण हुने बताए। उनले “नेपालका लागि नेपाली” भन्ने नारासहित सुरु गरिएको अभियानले विश्वभरका नेपालीलाई एउटै लक्ष्यमा जोडेको बताए।
कार्यकारी अध्यक्ष डा. बद्री केसीले संघ फुटदेखि एकतासम्मको यात्रामा आफूहरू नेतृत्वमा रहेको स्मरण गर्दै आगामी दिनमा अझ सुदृढ एकता कायम गरिने बताए। उनले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखिएका कानुनी जटिलता हटाउन सरकारसँग आग्रह गरे।
कार्यक्रममा बोल्दै पूर्वअध्यक्षहरू विनोद कुँवर, रबिना थापा, आरके शर्मा, जीवा लामिछाने, भवन भट्ट लगायतले एनआरएनए अभियानको मूल शक्ति नै एकता भएको उल्लेख गर्दै प्रवासी नेपालीको सीप, ज्ञान र पुँजीलाई नेपालको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए।
उनीहरूले विश्वभर रहेका करिब ८० लाख नेपालीको प्रतिनिधित्व गर्ने संस्थाका रूपमा एनआरएनएले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्।
अधिवेशनले संघको भावी कार्यदिशा तय गर्ने, विगतका गतिविधिको समीक्षा गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ।