रसुवा बाढीपीडितका लागि अमेरिकाबाट १५ लाख सहयोग, व्यवसायी अनिल पाण्डेले अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरे

theoutsidenepal.com

रसुवा बाढीपीडितका लागि अमेरिकाबाट १५ लाख सहयोग, व्यवसायी अनिल पाण्डेले अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरे

काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकास्थित नेपाली व्यवसायी तथा समाजसेवीहरूले १५ लाख रुपैयाँ सहयोग गरेका छन्।

क्यालिफोर्नियास्थित Everest Cuisine र Everest Tax and Accounting Services, Inc. को तर्फबाट संकलित उक्त सहयोग रकम व्यवसायी एवं समाजसेवी अनिल पाण्डे स्वयं नेपाल आएर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।


पाण्डेले नेपालका अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग भेट गरी बाढीपीडितको राहतका लागि सहयोग रकम हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्। उनले विपद्को पीडामा रहेका नेपालीको सहयोगका लागि अमेरिका बस्ने नेपाली समुदायले देखाएको उदारता र मानवीय भावनाप्रति आभार व्यक्त गरेका छन्।


यसअघि क्यालिफोर्नियामा रहेका पाँच जना नेपाली व्यवसायीको संयुक्त पहलमा रसुवा बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको थियो।

पाँच व्यवसायीको संयुक्त पहल

सहयोग गर्ने व्यवसायीहरूमा:

  • प्रिन्स युवराज कार्की
  • अनिल पाण्डे
  • डिल्ली विक्रम थापा
  • दिप ज्योती कार्की
  • शुसिल डल्लाकोटी

रहेका छन्।

Everest Cuisine का सञ्चालक एवं युवा व्यवसायी प्रिन्स युवराज कार्की तथा सञ्चालक अनिल पाण्डेसहित पाँच व्यवसायीले विपद्को कठिन घडीमा राज्य र पीडित नागरिकलाई आफ्नो तर्फबाट साथ दिने उद्देश्यले सहयोग गर्ने निर्णय गरेका हुन्।


बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको अवस्थामा राहत, उद्धार र पुनःस्थापनाका लागि देश तथा विदेशमा रहेका नेपालीबाट सहयोग जुटिरहेका बेला अमेरिकाबाट आएको यो सहयोगले पीडित परिवारको राहत अभियानमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

अमेरिकाबाट घोषणा गरिएको सहयोग नेपालमा हस्तान्तरण तथा आवश्यक समन्वयका लागि रजतपट अंकलका सञ्चालक प्रकाश सुवेदीले सहजीकरण गरेका थिए। पाण्डेले सहयोग हस्तान्तरणका क्रममा सुवेदीप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्।


पाण्डेले विपद्को समयमा सहयोग रकमको आकारभन्दा पनि सहयोग पछाडिको भावना महत्वपूर्ण हुने उल्लेख गर्दै विदेशमा रहेका नेपालीलाई पनि आफ्नो क्षमताअनुसार पीडितको साथमा उभिन आग्रह गरेका छन्।

उनले “दुःखमा परेको नेपालीलाई एक्लो नछोडौँ, देश रोएको बेला हामी मौन नबसौँ” भन्ने भावनासहित मानवताको पक्षमा सबैलाई सहयोगका लागि अपिल गरेका छन्।

सहयोग हस्तान्तरणका क्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूसँग भेटघाट गर्न पाएकोमा समेत पाण्डेले खुशी व्यक्त गरेका छन्।


प्रतिक्रिया