ऋणको भारले सपनाको घर छाडे पत्रकार सन्तोष देउजा, भावुक स्टाटस सार्वजनिक
चितवन, ७ साउन — चितवनका पत्रकार सन्तोष देउजाले आफूले पसिना बगाएर निर्माण गरेको घर बैंकको ऋणका कारण अरूलाई सुम्पनुपरेको भन्दै सामाजिक सञ्जालमार्फत भावुक स्टाटस सार्वजनिक गरेका छन्।
देउजाले घर इँटा, सिमेन्ट, कंक्रिट र काठले मात्र नभई भावना र सम्झनाले बनेको हुने उल्लेख गर्दै जेन्जी आन्दोलनका क्रममा टुटेका सम्बन्ध र भावनालाई जोड्ने प्रयास गरे पनि आफ्नो घर जोगाउन नसकेको बताएका छन्।
उनले आफ्नो स्टाटसमा आफूले मेहनत गरेर बनाएको घरलाई केही व्यक्तिले “फलानोले बनाइदिएको घर” भनेर बदनाम गरेको गुनासो पनि गरेका छन्। बैंकको ऋण निरन्तर बढ्दै गएपछि बाध्य भएर घर अरूलाई सुम्पिएको उल्लेख गर्दै उनले आफ्ना शुभचिन्तकहरूप्रति आभार व्यक्त गरेका छन्।
स्टाटसको अन्त्यमा उनले “मेरा लागि सधैं भलो चिताउने हजुरहरूप्रति सदैव नतमस्तक छु। एकदिन फेरि म उठ्नेछु। शुभरात्री।” भन्दै भविष्यमा पुनः संघर्ष गरेर उभिने दृढ संकल्प व्यक्त गरेका छन्।
उनको यो स्टाटस सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ भने धेरैले उनलाई हौसला र साथ दिँदै सकारात्मक प्रतिक्रिया जनाइरहेका छन्।