परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण सम्पन्न, द्विपक्षीय सहयोग विस्तारमा जोड
काठमाडौँ, असार ३ — परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा जेठ ३१ देखि असार ३ गतेसम्म भएको भ्रमणका क्रममा नेपाल–चीन सम्बन्धका विविध पक्षमा उच्चस्तरीय छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बेइजिङमा भएको द्विपक्षीय भेटवार्तामा दुवै पक्षले आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सहमति जनाएका छन्। नेपालले ‘एक चीन नीति’प्रतिको प्रतिबद्धता दोहोर्याउँदै आफ्नो भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारेको थियो भने चीनले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र विकास प्राथमिकताप्रति आफ्नो समर्थन पुनः व्यक्त गरेको छ।
भेटवार्तामा पूर्वाधार विकास, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषणलगायत क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङ तथा वाङ्ग हुनिङसँग पनि भेटवार्ता गरेका थिए। उनीहरूबीच द्विपक्षीय सम्बन्ध सुदृढीकरण र विभिन्न क्षेत्रमा सहकार्य विस्तारबारे विचार आदानप्रदान भएको थियो।
बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागी हुँदै मन्त्री खनालले चिनियाँ व्यवसायी तथा लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका थिए। उनले नेपाल सरकार लगानी तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताए।
भ्रमणका क्रममा मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नुका साथै दूतावासका अधिकारीहरूलाई आर्थिक तथा विकास कूटनीति प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएका थिए।
त्यसैगरी, उनले नेपालका राष्ट्रिय विभूति अरनिकोद्वारा डिजाइन गरिएको बेइजिङस्थित श्वेत स्तूप (डागोबा)को अवलोकन गरेका थिए। साथै, उनले Chinese Academy of Sciences अन्तर्गतको Institute of Tibetan Plateau Research तथा Zhongguancun Science Parkको भ्रमण गरी विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रमा सहकार्यका सम्भावनाबारे जानकारी लिएका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउँदै आर्थिक तथा विकास कूटनीतिलाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास लिइएको छ।