काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष सतेन्द्र शाहले युवा पलायनलाई नेपालको गम्भीर राष्ट्रिय मुद्दाका रूपमा उठाउँदै यसबारे गम्भीर बहस र ठोस नीतिगत हस्तक्षेप आवश्यक रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहले नेपाली साहित्यको कालजयी कृति मुनामदन केवल प्रेमकथा मात्र नभई वैदेशिक रोजगारीको बाध्यता र सामाजिक विछोडको कथा भएको स्मरण गराएका छन्। उनका अनुसार मदन ल्हासा कमाउन जाँदा परिवार, प्रेम र देश छोड्न बाध्य भएजस्तै आज पनि हजारौं युवा रोजगारीको खोजीमा खाडी मुलुक, युरोप र अमेरिका पुगिरहेका छन्।
उनले वर्तमान परिदृश्य चित्रण गर्दै भनेका छन्—आज ल्हासाको स्थानमा खाडी, युरोप र अमेरिका आएका छन्, र जहाज भरिएर युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट बाहिरिँदै छन्। दृश्य फेरिएको छ, तर कथा उस्तै छ।
शाहले युवा पलायनका बहुआयामिक प्रभावबारे पनि चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार श्रमशक्ति बाहिरिँदा गाउँहरू रित्तिँदै गएका छन्, छोराछोरी आमाबुबा बिना हुर्किन बाध्य छन्, बुढाबुढी एक्लिँदै गएका छन् र पारिवारिक सम्बन्ध कमजोर बन्दै गएका छन्। सम्बन्ध विच्छेद, मानसिक तनाव र सामाजिक विखण्डनका समस्या बढ्दै गएका छन्। कतिपय गाउँमा अन्तिम संस्कार गर्नेसम्म युवाशक्ति अभाव देखिन थालेको उनले उल्लेख गरेका छन्।
“यो केवल आर्थिक विषय होइन—यो सामाजिक, सांस्कृतिक र राष्ट्रिय भविष्यसँग जोडिएको प्रश्न हो,” शाहले बताएका छन्।
देशमा चुनावी माहोल भइरहेका बेला यति ठूलो राष्ट्रिय मुद्दा पर्याप्त प्राथमिकतामा नपरेकोप्रति उनले दुःख व्यक्त गरेका छन्। रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनजस्ता विषयहरू महत्त्वपूर्ण भए पनि युवा पलायन ती सबैको परिणाम र कारण दुवै भएको उनको तर्क छ।
“यदि युवा नै देशमा रहँदैनन् भने विकास कसले गर्छ?” भन्ने प्रश्न गर्दै शाहले राजनीतिक दलहरूलाई युवा स्वदेशमै टिकाउने दीर्घकालीन नीति, रोजगारी सिर्जना र विश्वासिलो वातावरण निर्माणमा गम्भीर हुन आग्रह गरेका छन्।